एक महिनामै ५२ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

पछिल्लो समय घरजग्गाको कारोबार बढेको छ। चालु आर्थिक वर्ष २०७९र८० को पहिलो महिना, साउनको तुलनामा घरजग्गा कारोबार भदौमा ५२ प्रतिशतले बढेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा भदौमा घरजग्गा कारोबार संख्या दुई हजार ५ सय ११ संख्या छ। यस्तो किनबेच संख्या साउनमा एक हजार छ सय ५५ थियो।

भदौमा जग्गाको कित्ताकाट पनि वृद्धि भएको छ। साउनमा २१७ कित्तालाई ६ सय २१ कित्तामा टुक्र्याइएको थियो भने भदौमा ५ सय ९३ कित्तालाई एक हजार ८ सय १२ कित्तामा टुक्र्याइएको तथ्यांक छ। त्यस्तै रजिष्ट्रेसन दस्तुरबापत उठ्ने राजश्वमा यो एक महिनामा ६३ प्रतिशतले वृद्धि भएको छ। भदौमा रजिष्ट्रेसन दस्तुरबापत ५९ करोड २५ लाख रूपैयाँ राजश्व उठेको छ। साउनमा यो राजश्व ३६ करोड २८ लाख थियो।

घरजग्गाको कारोबार बढेसँगै पुजिँगत लाभकरबापत उठ्ने राजश्व पनि ६८ प्रतिशतले वृद्धि भएको छ। भदौमा पुजिँगत लाभकरबापत ३१ करोड ३७ लाख रूपैयाँ राजश्व उठेको छ। साउनमा यो राजश्व १८ लाख ६० करोड रूपैयाँ थियो। केही समयदेखि घरजग्गा कारोबारमा मन्दी आइरहेको थियो। २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन(नियममा निर्देशित भएको छ। स्थानीय भू–उपयोग परिषदबाट भइरहेको जग्गा वर्गीकरणले पनि जग्गाको कारोबारमा कमी आएको थियो।

अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन्। कतिपय स्थानीय तहले जग्गा वर्गीकरणको काम सकाएकाले पनि घरजग्गाको कारोबार बढेको हुनसक्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका सूचना अधिकारी विष्णु कुमार महत बताउँछन्।

‘वर्गीकरण गरिसकेको जानकारी हाम्रोमा आउने त होइन तर मालपोत कार्यालयसँग बुझ्दा कतिपय स्थानीय तहले काम सकिएको बताएका छन्,’ उनले भने। कलंकी मालपोत कार्यालयका सूचना अधिकारी कृष्ण प्रसाद गौतमले पनि अहिले विभिन्न स्थानीय निकायबाट कित्ताकाटको सिफारिस आएको जानकारी दिए। उनका अनुसार साउनको तुलनामा भदौमा यो मालपोतको काम ५० प्रतिशतले बढेको छ।

‘गत महिना स्थानीय निकायबाट सिफारिस आएको थिएन। अहिले दक्षिणकाली नगरपालिकाबाहेक सबै निकायबाट कित्ताकाटको सिफारिस आएको छ,’ उनले भने। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार भदौमा सबभन्दा बढी घरजग्गा कारोबार पनि कलंकी मालपोत कार्यालयबाटै भएको छ। कलंकी मालपोत कार्यालयबाट यो महिना घरजग्गा किनबेचको संख्या सात सय १८ छ।

यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरि, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्। दोस्रो ठूलो कारोबार गर्नेमा साँखु मालपोत कार्यालय छ। यो कार्यालयबाट भदौमा ६ सय ९४ संख्यामा घरजग्गा किनबेच भएको छ। आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्।

त्यस्तै मनमैजु कार्यालयबाट भदौमा दुई सय ५४ संख्यामा घरजग्गा कारोबार भएको छ। साउनमा यस कार्यालयबाट कुनै कारोबार भएको थिएन। यस कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्। डिल्लीबजार कार्यालयबाट भदौमा एक सय ८६ संख्यामा घरजग्गा किनबेच भएको छ। अघिल्लो महिनाको तुलनामा यो दोब्बरले बढी हो। यस कार्यालयको काठमाडौं महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ।

त्यस्तै चाबहिल कार्यालयबाट भदौमा पाँच सय २६ संख्यामा घरजग्गा किनबेच भएको छ। यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन्। टोखा कार्यालयबाट भदौमा एक सय ३३ संख्यामा घरजग्गा किनबेच भएको छ। यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारेकश्वर नगरपालिका वडा नम्बर १ हेर्छ।

अघिल्लो महिनाको तुलनामा भदौमा कारोबार बढे पनि गत आर्थिक वर्ष २०७८र७९ को भदौको तुलनामा भने कारोबार घटेको छ। पोहोर भदौभन्दा यो वर्ष भदौमा घरजग्गा कारोबार ४६ प्रतिशतले कमी आएको छ। गत भदौमा काठमाडौं जिल्लामा चार हजार ६ सय तीन संख्यामा घरजग्गा कारोबार भएकामा यो भदौमा दुई हजार पाँच सय ११ संख्यामा भएको विभागको तथ्यांकले देखाउँछ।

Share your love