नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान राेहित पाैडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगकाे खेलमा ५५ रन बनाउँदै राेहितले एक हजार रन पूरा गरेका हुन् । याेसँगै उनी एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलाे नेपाली क्रिकेटर बनेका छन् ।
३३ खेलमा एक हजार रन पूरा गर्दा राेहितले एक शतकसहित छ वटा अर्धशतक बनाएका छन् । एकदिवसीयमा उनकाे व्यक्तिगत उच्च स्कोर एक सय २६ रन हो । एकदिवसीयमा उनकाे औसत ३५ भन्दा धेरै छ ।
एकदिवसीयमा रोहितपछि ज्ञानेन्द्र मल्लले २७ खेलमा २८ काे औसतमा छ वटा अर्धशतकसहित सात सय ३४ रन बनाएका छन् । यस्तै आसिफ शेखले २४ खेलमा २८ काे औसतमा पाँच वटा अर्धशतकसहित छ सय ५५ रन बनाएका छन् । अहिले नेपालले नामिबियाले दिएकाे दुई सय ८६ रनकाे लक्ष्य पछ्याइरहेकाे छ । क्रिजमा राेहित र कुशल भुर्तेल छन् ।