‘एउटा मन्त्रालय देशभित्रै स्वरोजगार हुनुपर्छ भन्छ, अर्को मन्त्रालय रेमिट्यान्सका लागि म्यानपावर गुहार्दै हिँड्छ’

काठमाण्डौ – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवा तथा खेलकुद मन्त्रालयलाई दुई भागमा विभाजन गर्न आवश्यक रहेको बताउनुभएको छ । आइतवार काठमाण्डौमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले युवा तथा खेलकुद मन्त्रालयलाई युवा, श्रम तथा रोजगार मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै मन्त्री गहतराजले युवालाई देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आउँदो चुनावको मुख्य मुद्दा बन्नुपर्ने बताउनुभयो ।

उहाँले युवा र स्वरोजगारका मुद्दालाई अघि बढाउने पार्टीहरूले नै देशको नेतृत्व गर्नुपर्ने बताउनुभयो । देशभित्र नै स्वरोजगारको वातावरण बनाउँदा अहिले विदेश पलायन भइरहेको युवा शक्तिलाई रोक्ने उहाँको भनाइ छ ।

मन्त्री गहतराजले प्राकृतिक स्रोत र साधनलाई सही ढङ्गले सदुपयोग गर्ने नयाँ सोच ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले एकद्वार प्रणालीबाट युवालाई तालिम दिने हो भने झन्डै ७० अर्ब रुपैयाँ रकम केन्द्रित गर्न सक्ने आधार सरकारसँग रहेको बताउनुभयो ।

Share your love