उपेन्द्र यादव बारा २ बाट सिफारिस

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्। जसपाले उनलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो।

जसपाको बारा क्षेत्र नम्बर २ कमिटीको बैठकले यादवको नाम सिफारिस गरेको हो। यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग रायको नाम सो क्षेत्रबाट सिफारिसमा परेका छन्।

गत भदौ ११ गते नै जिल्लाबाट अध्यक्ष यादवसहित तीन जनाको नाम क्षेत्र नम्बर २ बाट सांसदका लागि सिफारिस गरिएको बार क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका जसपा मधेस प्रदेश अध्यक्ष रामबाबु यादव जानकारी दिए।

‘उपेन्द्र यादवसहित,रामसहाय यादव र प्रयाग राय यादव गरी तीन जनाको नाम क्षेत्र नम्बर २ बाट सांसदको लागि सिफारिस गरिएको हो’, उनले भने, ‘गएको भदौ ११ गते नै जिल्लाबाट सिफारिस भएको छ।’

२०७४ को चुनावमा सो क्षेत्रबाट रामसहायप्रसाद यादव विजयी भएका थिए।

उपेन्द्र यादव यसअघि सप्तरी २ बाट निर्वाचित भएका थिए। यादवको क्षेत्रबाट आउँदो चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले चुनाव लड्ने घोषणा गरेका छन्।

Share your love