अस्पतालले उपचारमा लागेको खर्च तिरेपछि मात्र शव दिने बताएपछि विपन्न परिवारका मृतकका पति उमेश राम समस्यामा परेका छन् । श्यामाका आफन्त रामएकवाल रामका अनुसार अस्पतालले १२ लाख ५९ हजार २ सय रुपैयाँ खर्च देखाएको छ । जसमध्ये ३ लाख ७४ हजार रुपैयाँ श्यामाको परिवारले अस्पताललाई बुझाइसकेको छ ।
यस्तै औषधि वापत ८ लाख खर्च भएकोमा परिवारले छुट्टै ५ लाख २५ हजार बुझाइसकेको छ । अस्पतालले बाँकी रहेको रकम बुझाए मात्र शव दिने बताएपछि पैसाको व्यवस्थापन गर्न नसक्दा मृतकका परिवारजन शव कुरेर अस्पताल बाहिर बस्नु परेको रामएकवालले बताए ।
श्यामाकुमारीको पछिल्लो प्रकरणमा ठक्कर दिने ट्रयाक्टर धनीले अहिलेसम्म एकलाख रुपैयाँ मात्र दिएको छ । लामो समयदेखि रोजगारीका लागि कतारमा रहेका श्यामाकुमारीका पति उमेश श्रीमती दुर्घटनामा घाइते भएपछि नेपाल फर्किएका छन् ।
एक छोरा र दुई छोरी रहेका उनले भने, ‘बैदेशिक रोजगारीमा रहँदा जसोतसो परिवार पालेका थियौं । श्रीमतीको दुर्घटनापछि बिदा लिएर फर्किए, श्रीमतीलाई बचाउन त सकिएन । शव बन्धक हुँदा सद्गत पनि गर्न सकेको छैन ।’
विराट नर्सिङ होमका प्रशासन प्रमुख पदम बिनाडीले श्यामाकुमारी उपचारमा लागेको साढे ८ लाख रुपैयाँ अस्पताललाई तिर्न बाँकी रहेको बताए । ‘हाम्रो कुनै अनुदान छैन्, कुनै दाता छैन । अस्पतालमा भर्ना गरिएपछि उपचारमा लागेको खर्च त विरामी पक्षबाट लिने हो नि ?’ बिनाडीले भने, ‘उपचारमा लागेको रकम मध्ये साढे ८ लाख जति बाँकी रहेकाले शव रोकिएको हो ।’
जिल्ला प्रहरीका डीएसपी ढुण्डीराज न्यौपानेले सवारी अंगभंग मुद्दामा चालक पूपर्क्षका लागि कारागार चलान भएको र ट्याक्टरधनी फरार रहेकाले उपचार खर्च व्यवथापनका लागि पहल गरिरहेको बताए । कान्तिपुरबाट साभार