इलाममा उपनिर्वाचन : उम्मेदवारलाई घरदैलो गर्न भ्याइनभ्याइ, मतदातालाई कामकै चटारो

इलाममा यतिबेला उपनिर्वाचनको चटारो छ । नेता शहरकेन्द्रित भएर भाषणमा व्यस्त भइरहँदा मतदाता भने आफ्नो काममै ब्यस्त देखिएका छन् ।इलाम सदरमुकामसहित आसपासका क्षेत्र निर्वाचनकेन्द्रित कार्यक्रममले भरिभराउ देखिन्छ । उम्मेदवारी दर्ता गराएका दल र स्वतन्त्र उम्मेदवारले आमसभा र कोणसभा गरेसँगै घर दैलो अभियानलाई तिव्रता दिइरहेका छन । कुनै राजनैतिक दल र उम्मेदवार आफ्ना एजेण्डा राख्दै मतदाता आकर्षित गरिरहेका छन । सदरमुकाममा मात्रै नभएर गाउँ बस्तीका टोल टोलमा आयोजना हुने आमसभा, कोणसभा र मतदाता भेटघाट आदिमा उम्मदवारसँगै तिनलाई सघाउन आएका विभिन्न दलका शीर्ष नेतृत्व पनि विभिन्न एजेण्डा पस्किइरहेका भेटिन्छन् ।

तर यता आम सभा र कोण सभालाई प्रतिष्ठाको विषय बनाँउदै दलहरु एक अर्का बिच आरोप प्रत्यारोपमा व्यस्त रहेपनि बजारभन्दा टाढा बस्तीमा रहेका मतदाता आफ्नै काममा व्यस्त देखिन्छन् । उम्मेदवारका भाषण र आरोप प्रत्यारोप नसुने पनि इच्छाएको दल र उम्मेदवारलाई भोट दिने धारणा बनाएका उनीहरु आफनै काममा रमाइरहेका छन् ।

अहिलेको उपनिर्वाचन हुने क्षेत्र भनेको इलाम सदरमुकामसहित जिल्लाको पश्चिमी क्षेत्र हो । यो क्षेत्र भुगोलका हिसाबले अलिक विकट छ । यहाँसम्म आइपुग्ने सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ । यति मात्र हैन स्वास्थ्य सुविधा नहुँदा उपचार गराउन झापासम्म पुग्नु पर्छ भने विकास र पुर्वाधारको पहुँच अझैपनि निकै टाढा छ । यहि पिडाका कारण पनि हुनसक्छ मतदातामा उपनिर्वाचनको खासै रौनक छाएको छैन तर ग्रामीण बस्तीका मतदातामा मताधिकार प्रयोग गर्नुपर्छ भन्ने चाहिँ राम्रो ज्ञान देखिन्छ ।