जुम्लाको इलाका प्रशासन कार्यालय नराकोट सिंजामा कर्मचारी नहुँदा नागरिकता वितरण कार्य ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेका कर्मचारी अन्तै सरुवा भएका र अरू कर्मचारी पनि नआउँदा नागरिकता वितरण कार्य बन्द भएको हो ।
सिंजा क्षेत्रको हिमा गाउँपालिका, सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी स्थापना गरिएको इलाका प्रशासनले नागरिकता वितरण गर्दा नागरिकलाई नागरिकता लिन सहज भएको थियो । तर वर्षायामको झरी अनि भौगोलिक विकटता र कठिनाइका कारण जिल्ला प्रशासन कार्यालय जान नसक्ने सेवाग्राहीलाई फेरि सास्ती हुने भएको छ ।
कार्यालयमा नागरिकता लिन जानेहरू कर्मचारी नभएको भन्दै फर्किने गरेका छन् । सेवाग्राही दलसिंह रोकाले भन्नुभयो, ‘इलाका प्रशासन कार्यालय नराकोटमा कार्यालय प्रमुख नहुँदा टाढा–टाढाबाट आउने हामीलाई सास्ती भएकाे छ ।’
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार हप्ता/दश दिन अगाडि इलाका प्रशासन कार्यालयमा निमत्तकाे रूपमा खटाइएका नायब सुब्बा सुरत गिरीको अर्कै ठाउँमा सरुवा भएपछि अर्को कर्मचारीकाे खोजी भइरहेको छ । उहाँले अब अर्को व्यवस्था नहुँदासम्म जिल्ला सदरमुकाम खलङ्गाबाटै नागरिकता दिइने बताउनुभयो ।
इलाका प्रशासन कार्यालय सिंजा नराकोटमा अधिकृतस्तरको दरबन्दी छ तर सरकारले कर्मचारी पठाउन सकेको छैन ।