इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बेलुका पौने ७ बजे चेल्सी र लिड्स युनाइटेड तथा वेस्ट ह्याम र ब्राइटन खेल्दैछन् ।

२ खेलमा ४ अङ्क जोडेको चेल्सी आठौँ र लिड्स युनाइटेड सातौँ स्थानमा छन् । चेल्सी अघिल्लो खेलमा टोटनह्यामसँग बराबरीमा रोकिएको थियो । त्यस्तै दुई खेलमा अङ्क जोड्न नसकेको वेस्ट ह्याम पुछारबाट दोस्रो स्थानमा छ भने चार अङ्कसहित ब्राइटन नवौँ स्थानमा रहेको छ ।

अर्को खेलमा राति सवा ९ बजे न्युकासल युनाइटेड र म्यानचेस्टर सिटीबीच खेल हुनेछ । अङ्कतालिकामा सिटी तेस्रो स्थानमा छ । उसले २ खेलमा ६ अङ्क जोडेको छ । २ खेलमा ४ अङ्क जोडेको न्युकासल छैटाैँ स्थानमा छ । गएराति भएको खेलमा बर्नमाउथलाई ३–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको छ ।

आर्सनलले ३ खेलमा ९ अङ्क जोडेको छ । बर्नमाउथ ३ अङ्कका साथ १४औँ स्थानमा छ ।  ३ खेलमा ७ अङ्क जोडेको टोटनह्याम दोस्रो स्थानमा छ ।

Share your love