छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्ने बित्तिकै व्रतीहरूले सात्विक भोजन खाँदैनन् । यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र साठिको व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ ।
छठ पर्वमा साठी प्रकारको वस्तु चाहिने भनिन्छ, तिनमा केही कमी रहन गएमा साठिको प्रयोगले त्यसको पूर्ति भइहाल्ने लोकविश्वास रहेको छ । साठिलाई कुटेर त्यसको चामललाई पर्वका अवसरमा बनाइने नैवेद्यका लागि उपयोग गरिन्छ । आरोग्य लाभ मुख्य उद्देश्य भएको छठ पर्व उत्सवको रूपमा मात्र नभइ कठिन व्रत र उपवास गरिने तपस्याको रूपमा देखिन्छ ।
चोखोपना, संयम र पूर्ण ब्रह्मचर्यसाथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास रहेको पाइन्छ । छठ पर्वको पूजन एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान जानी वा नजानी गरिएमा अनिष्ट हुने निश्चित मानिएको छ । छठ पर्व विशुद्ध रूपमा प्रकति र पुरूषको पूजा हो ।
सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ । झट्ट हेर्दा यो सूर्यको पूजाझैँ देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैँठौ अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा हो ।
देवी भागवत्मा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ । यसै कारण यो पर्व साझा समानताको पर्वका रूपमा लोककरण भएको पाइन्छ ।