नेपालीहरुको महान चाड बडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिंदैछ ।बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा चलिआएको छ । त्यसै अन्तर्गत शुक्रबार स्कन्दमाताको पूजा आरधना गरिदैछ ।
सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु–सम्पन्न हुने धार्मिक विश्वास छ।भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाताले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् भन्ने मान्यता छ । त्यसैले स्कन्दमातालाई ज्ञान र क्रियाकी स्रोत एवं आरम्भकी प्रतीक मानिन्छ ।
धार्मिक विश्वास अनुसार भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ । यी देवीले सिंहमा बिराजमान भई हातमा कमलको फूल धारण गरेकी छन् ।
स्कन्दमाता देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने धार्मिक विश्वास छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतीक मानिन्छ ।
आजको दिन राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भीड लाग्ने गर्छ । त्यस्तै, नक्साल भगवती, भद्रकाली र ईन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थीको भीड हुने गरेको छ ।
काठमाडौं उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा र गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा नवदुर्गा अवधिभर दर्शनाथीृको भीड लाग्ने गर्दछ ।
दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको बडा दशैमा विशेष पूजा र आरधना गर्ने गरिन्छ ।