सल्यानमा आगलागीमा परि गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि भारत लगिएको छ । सोमबार राती जिल्लाको कुमाख गाउँपालिका ४ भण्डार खोलामा रहेको एक किराना पसलमा आगलागी हुँदा ५ जना घाइते भएका थिए ।

गम्भीर घाइते पसल सञ्चालक कुमाख गाउँपालिका ४ भण्डारखोलाका २४ वर्षीय शङ्कर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना र २० वर्षीय सञ्जीव शाहलाई उपचारका लागि भारतको लखनउ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।

सामान्य घाइते १८ वर्षीय क्षेत्रमणी राना भने डिस्चार्ज भएको उहाँको भनाई छ । सोमबार राती शङ्करको पसलमा एक्कासी आगलागी भएको थियो । आगलागीबाट घाइते ५ जनालाई कोहलपुर मेडिकल कलेज बाँके पठाइएको थियो ।