आएदेखि अर्थ मन्त्रालय धाइरहेकाे छु, रेल चलाउन १ रुपैयाँ पनि पाएका छैनाैँ : महाप्रबन्धक झा

काठमाण्डाै – नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले रेल चलाउनका लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गर्नुभएको छ । महाप्रबन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसीएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरे पनि मन्त्रालयले सम्झौताअनुसारकाे रकम नदिएको गुनासो गर्नुभएको हो ।

आज बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम दिनलाई मन्त्रालयले बेवास्ता गरेको बताउनुभयो । महाप्रबन्धक झाले कम्पनीमा महाप्रबन्धक भएको एक वर्ष पुग्न लाग्दासमेत रेल सञ्चालनका लागि मन्त्रालयले रकम नदिएको बताउनुभयो । उहाँले मन्त्रालयले पूर्व महाप्रबन्धकलाई पैसा दिने तर आफू आएपछि पूर्वाग्रह राखेर रकम निकासा नगरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘रेल सञ्चालनका लागि बजेट व्यवस्थापनकाे समस्या मुख्य कुरा हो । २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले भारतीय केआरसीएल कम्पनीसँग सम्झौता गर्न लाग्ने सबै रकम अर्थ मन्त्रालयले निकासा दिने भन्ने थियो । म महाप्रबन्धक भएर आएको एक वर्ष भएको छ । अर्थ मन्त्रालयबाट हामीले एक रुपैयाँ पनि पाएका छैनौँ । म आएदेखि अर्थ मन्त्रालय धाइरहेको छु । सम्झौता भएको र सरकारले निर्णय गरेको रकम यसअघि आइरहेकाे र म आएसँगै नआउनुले संशय छाएको छ । हामीले सरकारसँग थप बजेट मागेका छैनौँ । सम्झौता र मन्त्रिपरिषद्ले गरेको पैसा माग गरेका हौँ । कुनै पनि कम्पनी वा व्यापार व्यवसाय गर्न बिउ, पुँजी चाहिन्छ र त्यो सरकारले दिनुपर्छ । सरकारले बिउ, पुँजी दिएपछि कम्पनी आफ्नो खुट्टामा आफैँ उभिने हो ।’

महाप्रबन्धक झाले जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै जनकपुरमा आन्तरिक पर्यटकमा समेत वृद्धि भएको बताउनुभयो । उहाँले भारतबाट सिधै रेलमार्फत जनकपुर आउने जनकपुरबाट हवाई उडानबाट पोखरा, काठमाण्डाै गर्न सकिने भएकाले भारतीय पर्यटकमा वृद्धि भएको बताउनुभयो । रेल्वे सञ्चालनले बहुआयामिक क्षेत्रमा प्रभाव पारेको उहाँकाे भनाइ छ ।

महाप्रबन्धक झाले अहिले रेलमा यात्रुको चाप अत्यधिक रहेको तर अर्को रेल खरिद गर्ने कम्पनीसँग पैसा नभएको गुनासाे गर्नुभयाे । उहाँले अब एक थान यात्रुवाहक र एक थान सामग्री बोक्ने रेल सञ्चालन गर्नसके रेल्वे कम्पनीलाई नाफामा लगेर देखाउने दाबी गर्नुभयो । झाले पैसा नभएपछि योजना बनाएर मात्रै रेल नचल्ने बताउनुभयो । उहाँले रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले बजेट नदिँदा कम्पनीका नियमित काममा असर परिरहेको बताउनुभयो । मन्त्रिपरिषद्ले निर्णय गर्ने तर अर्थ मन्त्रालयले पैसा नदिने गर्नु भनेको रेल्वे कम्पनीलाई असहयोग गर्नुरहेको उहाँकाे भनाइ छ ।

झाले आउँदाे शनिवार जनकपुरधाममा भारतीय गोरख नामक रेल भारतीय पर्यटक लिएर आउने बताउनुभयो । उहाँले कम्पनीले यस्ता रेल महिनामा १० वटा ल्याउने गरी पहल गरिरहेको बताउनुभयो ।

Share your love