
अस्थिरता पैदा गर्ने शक्तिको प्रतिवाद गर्न तयार हुनुपर्छ : अध्यक्ष नेपाल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएको भन्दै त्यसलाई प्रतिवाद गर्नका निम्ति मानसिक र भौतिक रूपमा तयार हुनुपर्ने बताएका छन् ।
आफ्नो पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान २०७२ तथा विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धिहरूको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए । उनले भने, ‘संविधान र गणतन्त्रको पक्षमा हामी जनताको माझमा जान्छौँ, हामी त्यसका लागि जनताको शक्तिलाई परिचालित गर्न चाहन्छौँ ।’
उनले ०६२–६३ को जनआन्दोलनअघि पनि जनता राजनीतिक दलको साथमा नरहेको हौवा पिटिएको भन्दै आफूले नेतृत्व गरेको तत्कालीन एमालेले नै जनताको शक्तिलाई गाउँ गाउँमा गएर परिचालन गरेको फलस्वरूप जनआन्दोलन सफल भएको दाबी गरे । उनले भने, ‘फेरि पनि व्यवस्थामाथि चुनौती खडा भए हामी जनतामा जान्छौँ ।’
मङ्सिर ७ कै दिन एमालेले पनि आफ्नो युवा सङ्घमार्फत प्रदर्शनको कार्यक्रम तय गरिएकोलाई अध्यक्ष नेपालले गलत भएको बताएका छन् । उक्त दिनको कार्यक्रमलाई मध्यनजर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूसहितका अन्य राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्न बोलाएको जानकारी अध्यक्ष नेपालले दिए ।
भर्खरै चीन सरकारको निमन्त्रणामा त्यहाँका विभिन्न भूभागको भ्रमणका क्रममा चीन सरकारले गरेको स्वागत र सत्कारको उनले प्रशंसा गरे । ‘म यसअघि प्रधानमन्त्री हुँदा र पार्टी नेताकै हैसियतले चीन जाने गरेको थिएँ, तर यति महत्वका साथ स्वागत गरिएको थिएन ।’ उनले उक्त स्वागतलाई आफ्नो पार्टीप्रति चीन सरकार र त्यहाँको कम्युनिस्ट पार्टीले दिएको महत्वका रूपमा बुझ्नुपर्ने बताए ।
चीन सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित जनताको राहतका निम्ति दिएको ५० लाख युआन सहयोगमा आफ्नो पार्टीको भूमिका रहेको उल्लेख गर्दै उक्त रकम हस्तान्तरणका क्रममा प्रमुख चार दलका नेतालाई बोलाएको जानकारी दिए ।