चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनासम्म सरकारको खातामा १ खर्ब ९५ अर्ब ६२ करोड रुपैयाँ बराबरको नगद मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा सो रकम बराबरको मौज्दात रहेको छ । २०७९ असार मसान्तसम्म ती खातामा २ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ मौज्दात रहेको थियो ।
संघीय सरकारले तीन महिनासम्म २७८ अर्ब १७ करोड रुपैयाँ खर्च गरेको छ । यसमा चालु खर्च २२३ अर्ब ७५ करोड, पूँजीगत खर्च १९ अर्ब ६८ करोड र वित्तीय व्यवस्थामा ३४ अर्ब ७३ करोड रुपैयाँ खर्च भएको छ । यस अवधिमा सरकारले राजस्वबाट २०८ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यसमध्ये १८९ अर्ब ३८ करोड कर र १९ अर्ब २० करोड संकलन भएको हो ।