अवतार ढकालका पाँच लघुकथा

अवतार ढकाल
१) परलोक‘दिव्य ज्ञान महायज्ञ’ लेखिएको ठूलो ब्यानर टाँगिएको। धेरै टाढासम्म पुराण वाचन र भजनकीर्तन सुनिने व्यवस्था मिलाइएका स्पिकरहरू। मञ्चको अवर्णित भव्यता। बिचको अग्लो आसनमा विराजमान पुराण वाचक। युवा भन्न सुहाउने वयस्क पण्डित। दैनिक हजारौं भक्तजन आउँथे र फर्कन्थे। आउने र जानेहरूको बाक्लो भीड लाग्थ्यो।

विशिष्ट व्यक्तित्वहरूका लागि मञ्चमै सत्ता, शक्ति र पैसाको आधारमा पण्डितको दायाँबायाँ लस्करै बस्ने व्यवस्था मिलाइएको थियो। गलामा पुष्पमाला लगाएका विशिष्ट भक्तजन। श्रोतागण बस्ने ठाउँको अगाडिका दुई लहरमा पनि बस्नका लागि मर्यादा-क्रम तोकिएको थियो।

महायज्ञको रमिता हेर्न पल्लो गाउँबाट दलविर पनि आएको थियो साथीहरूसँग। उबेला राजनीतिक क्रान्तिमा होमिएको प्रशिक्षित क्रान्तिकारी थियो। परिवर्तनपछि कुनै राजनीतिक पद प्राप्त गर्ने योग्यता नपुगेको सामान्य किसान। परलोक, धर्म, ईश्वर आदि भ्रम हो भन्ने कुरामा विश्वस्त थियो ऊ।

‘होइन, के अचम्म हो? मञ्चमा बस्नेदेखि श्रोतासम्म सबै क्रान्तिकारी पो टनाटन छन त?’ मञ्चभरि आफ्ना राजनीतिक गुरुहरू देखेपछि उसले सँगैको साथीसँग भन्यो।

ऊजस्तै यज्ञस्थलको निरीक्षण गरिरहेको एकजनाले भन्यो,‘भूतपूर्व क्रान्तिकारी हुन्। यो लोक सुधारिसके। अब परलोक…।’

२) चेतना

झन्डै बीस वर्षपछि उसको र मेरो भेट भएको थियो। एसएलसीपछि को कता पुगियो को कता, भेटघाटको मेसो मिलेकै थिएन।

उसले सिएमए पढेर अहेवमा नाम निकाले र आफ्नै गाउँमा जागिर खाँदैछ भन्ने सुनेको थिएँ। पछि फेसबुकमा जोडिएपछि हामी बिच हालखबर आदानप्रदान हुन थालेको थियो।

एकजना आफन्तलाई भेट्न उसको गाउँमा गएको बेला उसलाई भेट्न उसकै अफिसमा गएको थिएँ। लामो अन्तरालपछिको भेटघाटले दुवैलाई प्रसन्न बनाएको थियो। एक अर्काको बुढ्यौली लाग्दै गरेको ज्यान देखेर अचम्म पनि भएका थियौं।

उसको नजिकैको कुर्सीमा बसेर घरी उतिर घरी बाहिरतिर हेरिरहेको थिएँ। नजिकै एउटा प्राथमिक विद्यालय रहेछ। खाजा खाने समयमा पनि चौरमा विद्यार्थीहरू त्यत्ति धेरै देखिंदैन थिए।

मैले भनें,  ‘स्कुलहरू पनि धरापमा पर्न लागे है। विद्यार्थीहरू घट्दै गैरहेका छन्।’

सरकारी स्कुलमा कसले पढाउँछ र अचेल? मान्छेहरू धेरै चेतनशील भैसके। अहिले अभिभावकहरूले बच्चाको पढाइमा कुनै सम्झौता गर्दैनन्। विद्यार्थी जति सबै निजी स्कुल जान्छन्। शिक्षक आनन्दले जागिर खान्छन्।’ उसले लामै व्याख्या गर्‍यो।

त्यो विषयलाई त्यत्तिकै छाडेर हामी अरू कुराकानी गर्न लाग्यौं। करीब दुई घण्टा बितिसक्दा पनि उसको स्वास्थ्य चौकीमा एकजना पनि विरामी आएन। सामुन्नेमा औषधि पसल रहेछ। त्यहाँ भने मानिसहरूको बाक्लो भीड देखिन्थ्यो।

‘यहीं नि: शुल्क औषधि उपचार पाउने स्वास्थ्य चौकी छ। मान्छेहरू यहाँ नआएर किन त्यो क्लिनकमा गएका होलान्?’ मैले भीडतिर देखाउँदै भनें।

उसले रिसाउँदै भन्यो,‘मान्छेको चेतना नै छैन यार। सित्तैको या सरकारले उपलब्ध गराएको भनेपछि विश्वासै नगर्ने। कहिले बुद्धि आउने होला? न त्यो औषधि पसलेको योग्यता छ। त्यत्तिकै चलेको छ।’

मैले फेरि सोधें, ‘त्यो भीडमा सरकारी स्कुल छाडेर निजीमा सन्तान पठाउने सचेत अभिभावक पनि होलान् है?’

यसपटक साथी बोलेन।

३) जन्मभूमिको माया

‘रामायणमा भगवान् रामचन्द्रले भन्नुभएको छ, ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी। अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन्छन्।’

नानीबाबुहरू, त्यसैले आफू जन्मेको ठाउँ जतिसुकै दुर्गम भए पनि, विकास नभएको भए पनि र विकट भए पनि हामीले त्यसकै माया गर्नुपर्छ। त्यहीं बस्नुपर्छ र त्यहीं ठाउँको विकास गर्नुपर्छ। सबैले यही भावना राखे दुर्गमलाई सुगम बनाउन सकिन्छ। अविकसितलाई विकसित बनाउन सकिन्छ। बुझ्यौ?’ केशव सरले सामाजिकको आजको पाठको निष्कर्ष सुनाए।

कक्षामा सामूहिक स्वर गुन्जियो,‘बुझ्यौं सर।’

‘ल अब आफैंले पाठ राम्रोसँग पढ र केही बुझेनौ भने सोध।’ हातको पुस्तक  टेबलमा राख्दै उनले निर्देशन दिए।

‘सर,एउटा कुरा सोधौं?’ पछिल्लो बेञ्चमा बसेको रमनले हात उठाउँदै भन्यो।

‘सोध रमन, सोध। नबुझेको कुरा सोधे स्पष्ट हुन्छ। जति बढी जिज्ञासा राख्यो उति ज्ञान बढ्दै जान्छ।’ सरले मायालु स्वरमा उसलाई सोध्न हौस्याए।

‘अनि तपाईं किन यो गाउँमा भएको घरजग्गा बेचेर मधेसतिर बसाइँ जानुभ’को सर? परिवार सबै उतै पुर्‍याएर आफू डेरा लिएर बस्नुभ’को छ। जागिर सरुवा नहुन्जेल मात्र बस्ने रे त। तपाईंलाई चाहिं आफ्नो जन्मभूमिको माया लाग्दैन?’

४) गौमाता

रामशरण दाइ मेरो अलिक टाढाका आफन्त। मान्छे सहयोगी खालका थिए। विभिन्न संघसंस्थामा उनको सक्रिय सहभागिता थियो।

एकदिन घर-व्यवहारकै सिलसिलामा उनको घर गएको थिएँ। आँगनमै बसेर चिया पिउँदै गफ गर्दै थियौं। आफ्नो धर्म र संस्कृतिमाथि भैरहेको अतिक्रमणबाट चिन्तित भएको कुरा गर्दै थिए उनी। म चुपचाप सुनिरहेको थिएँ।

कुरा गर्दागर्दै एउटा मिनि ट्रक आएर उनको आँगनमा रोकियो। ट्रकबाट ओर्लिएको त्यस्तै चालीस वर्ष जतिको मान्छेले उनका हातमा पन्ध्र सय रुपैयाँ हालिदिएर हाँस्दै भन्यो,‘अहिले पारि झन् टाइट छ। माल त बाह्र सय जतिको मात्र हो। तीन सय घाटा भयो।’

उनले भने, ‘ल भाइ ऊ त्यो गाई पनि लानु बहरसँगै। पैसा पर्दैन।’

गाई र बहर दुवै ट्रकमा केहीबेरमै लोड भए। ट्रक बाटो लाग्यो। गाई कराइरहेको थियो।

उनले भन ‘के गर्नु? गोठमै मर्‍यो भने मिल्काउने समस्या हुन्छ। बहर त ख्वाएर पाल्नु मात्र हो। बिक्ने होइन। बरु आँखाले नदेखेपछि जेसुकै होस्।’

मैले कुनै प्रतिक्रिया जनाइन। आफ्नो व्यवहारको कुरा गरेर घरतिर हिंडें।

दिउँसो बजारतिर निस्केको थिएँ। बजारमा तीन सय जना जति मानिसको जुलुस निस्किरहेको रहेछ।

मानिसहरू नारा लगाइरहेका थिए। साथमा उनीहरूले नारा लेखिएका प्लेकार्ड र ब्यानरहरू पनि बोकेका थिए।

जुलुस नजिकै आइपुग्यो। मैले जुलुसतिर ध्यान दिंदै हेरें। सबैभन्दा अगाडि रामशरण दाइ एउटा प्लेकार्ड बोकेर उफ्रिदै जोशले कराइरहेका थिए,

-गाई हाम्रो-आमा हो।

-आमा मार्न पाइँदैन।

-हत्यारालाई फाँसी दे।

५) थेसिस

‘धेरै दिनपछि पो यता झुल्किस् त? जागिरसागिर खान थालिस् कि के हो केटो?’ होटल सञ्चालक साथीले रन्जनलाई आफ्नो छेउको मेचतिर बस्ने इसारा गर्दै सोध्यो।

‘केको खानु नि? पहिला थेसिस सकाएर जागिर या विदेशमध्ये एक विकल्पको खोजी गरौं भनेको वाक्क लागिसक्यो। कहिले के मिलेन कहिले के भनेर गाइडले भेजा चाटेको चाट्यै गर्छ।’ थचक्क बस्दै रन्जनले गुनासो पोख्यो।

‘सबैले थेसिस गाह्रो भन्छन्। आफूले त डिग्रीभन्दा पहिला … भित्र्याइयो।’ साथीले मजाक गर्‍यो।

रन्जनले प्रसंग बदल्यो,‘तेरो भन, कस्तो चल्दैछ? दिउँसो त लज सुनसान होला,हैन ?’

साथीचाहिं बोल्यो, ‘यहाँ त रातिभन्दा दिउँसो झन् बढी चल्छ। प्रतिकोठा एक रातको दुई हजार, दिउँसो घण्टाको पच्चीस सय।’

उसले भनेको कुराको अर्थ खोज्न एकछिन घोरियो रन्जन। त्यत्तिकैमा माथिल्लो तलामा जाने सिंढीमा झर्दै गरेको जुत्ताको आवाज सुनियो।

उसका आँखा सिंढीतिर सोझिए। आफूभन्दा आधा उमेरकी देखिने युवतीलाई अघि लगाएर एकजना अधबैंसे मानिस रुमालले निधार पुछ्दै झरिरहेका थिए।

उनी काउन्टरमा आइपुगेपछि रन्जन जुरुक्क उठ्यो र दुवै हात जोड्दै उभियो।

उसलाई देखेर प्रौढ झसंग भए, एकैछिनमा सम्हालिए र उसको काननिर मुख ल्याएर सुटुक्क भने, ‘ल भोलि बिहान थेसिस लिएर मेरो घरमा आउनु। सही गरिदिऊँला।’