अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गर्ने भएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्समार्फत झण्डै ६ हप्ताको समीक्षापछि आधिकारिक रूपमा यूएसएआईडीका ८३ प्रतिशत अर्थात आठ सय ३५ कार्यक्रम रद्द गर्ने निष्कर्षमा पुगेको जानकारी दिनुभएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जनवरीमा विदेशमा खर्चको मूल्याङ्कन गर्न भन्दै ९० दिनको लागि सबै अमेरिकी वैदेशिक सहायता रोक्न माग गरिएको एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो । यसैअन्तर्गत यूएसएआईडीका ८३ प्रतिशत कार्यक्रमहरू भने रद्द गरिएका बीबीसीको खबरमा उल्लेख छ ।
राष्ट्रपति ट्रम्प र उहाँका सहयोगीहरूले विदेशी सहयोग बेकार भएको र अमेरिकी हितमा नरहेको तर्क गर्दै आएका छन् ।
अहिले रद्द गरिएका पाँच हजार दुई सय सम्झौतामा अर्बौं डलर खर्च भए पनि अमेरिकाको मूल राष्ट्रिय हितलाई हानी पुर्याइरहेको निष्कर्ष निकालिएको छ ।
यूएसएआईडीले विश्वभर अमेरिकी मानवीय सहायता प्रदान गर्छ । लगभग एक सय २० देशहरूमा स्वास्थ्य र आपतकालीन कार्यक्रमहरू सञ्चालन गर्छ ।
विदेशमन्त्री रुबियोले सरकारी विभागहरूमा लागत कटौती र रोजगार कटौती गर्ने अभियानमा अर्बपति एलोन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग डीओजीईलाई समर्थन गर्दै धन्यवाद दिनुभएको छ ।