अपहरणमा परेका बालकको नेपाल–भारत सीमाबाट उद्धार, एकजना पक्राउ

चार वर्षीय बालकलाई अपहरण गरी लैजाँदै गर्दा नेपाल–भारत सीमा क्षेत्रबाट एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारको सितामढीका २७ वर्षीय अताबुल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार सितामढीकै धिरेन्द्र रामका ४ वर्षीय छोरा अंकितलाई अन्सारीले पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित सडकबाट अपहरण गरेका थिए। अपहरणमा परेका बालक भारतबाट मामाघर आएका थिए।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार थारुका अनुसार बुधबार करिब पौने २ बजे बालकलाई हात समातेर जबरजस्ती लगिरहेको अवस्थामा स्थानीयसमेतको सहयोगमा उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।

पक्राउ परेका अन्सारीलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराइ अपहरण तथा शरीर बन्धक कसुरमा म्याद थप गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। -देश सञ्चार