अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा.अल्भेरो बरमेजोले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन सङ्घले पुर्याएको योगदानको उच्च प्रशंसा गरेका छन् । पाँचदिने भ्रमणमा आइतबार साँझ नेपाल आइपुगेका उनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भने, “यस्तो सेवा विपन्न समुदायसम्म पुर्याउनुपर्छ । महासङ्घले नेपाललाई प्रदान गर्दै आइरहेको आर्थिक एवं प्राविधिक सहयोग निरन्तर जारी रहनेछ ।”
उनले आजै सङ्घद्वारा सञ्चालित ‘हर्मोनल तथा लेजर थेरापी’ क्लिनिकको निरीक्षणसमेत गरेका थिए । कार्यक्रममा सङ्घका अध्यक्ष हिमालय लाल कसजु र व्यवस्थापक डा. नरेशप्रताप केसीले सङ्घका गतिविधिबारे जानकारी दिएका थिए । हाल सङ्घले विभिन्न ३४ जिल्ला तथा तीन सय ५० पालिकामा यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवद्र्धनात्मक सचेतना प्रदान गरिराखेको छ । परिवार योजना सेवामा सङ्घको राष्ट्रिय योगदान तथा सिमान्तकृत तथा जोखिममा रहेका समुदायको पहुँचमा प्रजनन स्वास्थ्य सेवा पुर्याउन सङ्घले गरेको योगदान उल्लेखनीय रहेको छ ।
सङ्घका कूल सेवाग्राहीमध्ये ८८ प्रतिशत सेवाग्राही सिमान्तकृत तथा जोखिम समुदायमा छन् । कोरोना महामारीका बीचमा पनि सङ्घले सन् २०२१ मा लगभग ३६ लाख सेवा आफ्ना क्लिनिकमार्फत प्रदान गरेको थियो । महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको संस्था हो । महासङ्घमा विश्वका एक सय ४२ देशका परिवार नियोजन सङ्घ आबद्ध छन् । नेपाल परिवार नियोजन सङ्घ पनि उक्त महासङ्घको सदस्य हो ।
सङ्घले सन् १९६० मा यस महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । सदस्यता प्राप्त गरेदेखि नै सङ्घले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा काम गर्नका लागि नियमित वार्षिकरूपमा उक्त महासङ्घबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्दै आइरहेको छ ।
महासङ्घका उच्च नेतृत्वबाट यो तहको दोस्रोे पटक नेपाल भ्रमण भएको सङ्घले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महानिर्देशक डा.बरमेजोले मङ्गलबार द्विपक्षीय भेटघाट कार्यक्रम तय गरिएको छ । नेपाल भ्रमणका क्रममा महानिर्देशक डा.बरमेजोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्चपदस्थ नेतृत्वसँग नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा परामर्श गर्ने कार्यतालिका छ ।
यसैगरी भ्रमणका क्रममा उनले सङ्घको केन्द्रीय पदाधिकारी, उच्च व्यवस्थापन तथा युवा सदस्यसँग पनि भेटवार्ता एवंं सङ्घद्वारा सञ्चालित कार्यक्रमका बारेमा जानकारी लिनेछन् । सोही क्रममा उनले मोरङको विराटनगरस्थित सङ्घको शाखा कार्यालय, सुनसरी इटहरीस्थित सङ्घको परिवार स्वास्थ्य सेवा केन्द्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम छ । महानिर्देशक डा.बरमेजोले भ्रमणका दौरानमा सङ्घका साझेदारी सङ्घ संस्था, दातृ निकाय, सञ्चारकर्मी तथा अल्पसङ्ख्यक समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्ने जनाइएको छ ।
परिवार योजना सेवामा सङ्घको राष्ट्रिय योगदान तथा सिमान्तकृत तथा जोखिममा रहेका समुदायको पहुँचमा प्रजनन स्वास्थ्य सेवा पुर्याउन सङ्घले गरेको योगदान उल्लेखनीय रहेको छ । सङ्घका कूल सेवाग्राहीमध्ये ८८ प्रतिशत सेवाग्राही सिमान्तकृत तथा जोखिम समुदायका रहेका छन् ।