७५ प्रतिशत बालबालिकालाई अनलाइनबाट हुने यौन दुर्व्यवहारबाट सुरक्षित हुने उपाय थाहा नभएको तथ्याङ्कले देखाएको छ ।
भ्वाईस अफ चिल्ड्रेन र इपी लक्जम्वर्गले काठमाडौं उपत्यकाका ५ देखि १२ वर्ष उमेर समुहका ४५२ बालबालिकासँग गरिएको सर्वेक्षण अनुसार ७५ प्रतिशत बालबालिकाले अनलाइनबाट हुने यौन दुर्व्यवहारबाट सुरक्षित हुने उपायबारे थाहा नभएको भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्ण कुमार थापाले जानकारी दिए ।
पछिल्लो समय अनलाइनको माध्यमबाट सबैभन्दा बढी यौन दुर्व्यवहार र शोषणमा पर्ने गरेका थापाले जानकारी दिए । नेपाल प्रहरी केन्द्रीय साइवर व्युरोको तथ्याङ अनुसार आर्थिक वर्ष २०७७÷७८ मा २०८ जना बालबालिका (बालक ५६ र बालिका १५२) साइबर अपराधमा परेको उजुरी दर्ता भएका उनले जानकारी दिए ।
त्यस्तै १० देखि १८ वर्ष सम्मका बालबालिकाहरु धेरैजसो फोन वा मेसेजद्वारा यौनजन्य सन्देश, भिडियो र फोटो पठाउने, नग्न फोटो र भिडियो प्रयोग गरी धम्क्याउने र फकाउने, लोभ देखाउने तरिकाबाट दुर्व्यवहारमा पर्ने गरेको भ्वाइस अफ चिल्ड्रेनले जनाएको छ ।
यस्ता घटनाले बालबालिकामा लज्जित महशुस गर्ने, थकाई लाग्ने, निन्द्रा नलाग्ने पेट दुखिरहने जस्ता समस्या देखिने गरेको जानकारहरु बताउँछन् । ‘बाल दुर्व्यवहार गर्नेले मजाका लागि र पिडा दिन यस्ता काम गर्छन । र दुर्व्यवहार भोग्नेले पनि डरका कारण कसैलाई भन्न सक्दैनन्,’ उनले भने ।
भ्वाइस अफ चिल्ड्रेन २०५७ सालमा स्थापना भएको एक गैरसरकारी संस्था हो । यसले सडक, यौन दुर्व्यवहार र शोषणमा परेका तथा निकृष्ट प्रकारका श्रममा रहेका बालबालिकाको सरक्षणको लागि उद्दार, पुनस्थापना, पारिवारिक तथा सामाजिक पूनर्मिलन र जोखिम अवस्थामा रहेका परिवारहरुको क्षमता अभिवृद्धि गरी उनीहरुका बालबालिकाको संरक्षणका लागि कार्यहरु गर्दै आएको छ ।